सरकारी वकिलहरुको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धी ऐन बन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ माघ २३ गते १३:२३ मा प्रकाशित

काठमाण्डु,२३ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी वकिलहरुको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धी कानुन अघि बढाउने बताएका छन ।

महान्यायाधिवक्ता कार्यालयको निरीक्षणपछि सरकारी वकिलहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले संविधानमा भएको व्यवस्था बमोजिम अहिलेसम्म ऐन बन्न नसकेको भन्दै आफूले पहल गर्ने बताएका छन ।

उनले भने, ‘संविधानमा भएको व्यवस्था अनुसार सरकारी वकिलहरुको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धी कानुन आवश्यक छ । त्यसका लागि सरकारले विशेष पहल गर्ने छ ।’

उनले आफूले अघिल्लो कार्यकालमा महान्यायाधिवक्ता कार्यालयको भवन निर्माणका लागि पहल गरेको भन्दै यो पटक त्यो भन्दा राम्रो काम गर्ने प्रतिवद्धता जनाए ।

प्रचण्डले प्रधानमन्त्री कार्यालयमा महान्यायाधिवक्ता कार्यालयको इकाइ र सरकारी वकिलको दरबन्दीको पहल गर्ने बताएका छन । साथै कामको चापका आधारमा सरकारी वकिलहरुको दरबन्दी थप्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us