
काठमाण्डु,२३ माघ– सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सबै राजनीतिक दलका प्रमुख सचेतक र दलका प्रतिनिधिहरूलाई बोलाएर नागरिकता विधेयक अगाडि बढाउने तयारी रहेको बताएका छन ।
उनले नागरिकतालगायतका एक दर्जन विधेयकहरु चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी गरेको बताएका छन । यस अनुसार सम्बन्धित मन्त्रीहरुलाई समेत निर्देशन दिइसकिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।
प्रधानमन्त्रीमा विश्वासको मत माग्दै गदौ प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले ६ महिनाभित्र नागरिकता कानुन बनाउने बताएका थिए ।
आफ्नो बाचा अनुसार नै नागरिकता ऐन बनाउने आफ्नो चाहना रहेको दलका प्रतिनिधिहरु समक्ष प्रधानमन्त्री प्रचण्डले राखेका छन् । गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।
नागरिकता विधेयक अगाडि बढाउने मन्त्रालय पनि गृह मन्त्रालय हो । अघिल्लो कार्यकालमा धेरै छलफल भएर पनि नागरिकता ऐन बन्न सकेको थिएन ।
संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाले) दुई पटक पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीरण नगरिदिँदा नागरिकता ऐन बन्न सकेको थिएनन् ।
अघिल्लो कार्यकालमा मुख्यत विदेशी बुहारीको विषयमा दलहरुका विषयमा कुरा मिलेको थिएन । तत्कालीन अवस्थामा नेकपा एमालेले नेपाली पुरुषसँग बिबाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता (वैवाहिक अंगीकृत नागरिकता) दिनुपर्ने विषयमा अडान लिएको थियो ।
सरकारमा सँगै रहँदा माओवादी केन्द्रले पनि यही विषयमा आफ्नो अडान राखेको थियो । तर, पनि कांग्रेस नेतृत्वमा सरकार बनेपछि ०६३ अनुसार नै विवाह गरेर आए लगत्तै वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधानको निरन्तरताको पक्षमा माओवादी केन्द्र रहेको थियो । अहिले फेरि नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारमा छन् ।