बानेश्वरमा बाबु–छोरी मृत फेला

काठमाण्डु टुडे २०७९ माघ २२ गते ११:४७ मा प्रकाशित

काठमाण्डु,२२ माघ– काठमाण्डुको पुरानो बानेश्वरमा बुबा छोरी मृत अवस्थामा फेला परेका छन । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।

शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी निशान श्रीवास्तवका जानकारी दिएका छन । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनले बताएका छन ।

बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरुले बताएका छन । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।

घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीले बताएको छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो ।

त्यसक्रममा घटना अपराह्न ३र४ बजेतिरको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us