ओलीलाई प्रचण्डको जवाफः रविलाई गृह मन्त्रालय दिन सक्दिन

काठमाण्डु टुडे २०७९ माघ २१ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, २१ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गृहमन्त्री दिन नसकिने स्पष्ट गरेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओलीलाई प्रचण्डले रविलाई गृह मन्त्रालय दिन तयार नरहेको जवाफ दिएका हुन् ।

ओलीले रविलाई गृह दिन प्रचण्डलाई आग्रह गरेका थिए । उनले सार्वजनिक रुपमै सत्ता घटकबीचको भागबण्डामा गृह रास्वपाको भागमा परेकाले दिनुपर्ने बताउँदै आएका छन् । बालुवाटार श्रोतका अनुसार लामिछाने हालै मात्र दोहोरो नागरिकतामा दोषी ठहर भएको र दोहोरो राहदानी प्रकरणको टुंगो नलागिसकेको अवस्थामा गृह दिन नसकिने प्रचण्डको भनाइ थियो ।

‘भर्खरै अदालतले दोहोरो नागरिकताका विषयमा गरेको फैसलाको पूर्ण पाठ आएकै छैन’, प्रचण्डले ओलीलाई भनेका थिए, ‘दोहोरो पासपोर्टको छिनोफानो हुनै बाँकी रहेको अवस्थामा रविलाई गृह मन्त्रालय दिन सकिँदैन ।’ रविलाई मात्र नभई उनको दल रास्वपालाई पनि गृह दिन नसकिने प्रचण्डको स्पष्टोक्ति थियो ।

ओलीले भने पूर्वसहमतिअनुसार अघि बढ्न आग्रह गरेका थिए । तर, प्रचण्डले जुन निकायले पासपोर्टको छानबिन गर्ने हो सोही निकायको नेतृत्व गर्ने मन्त्री बनाउँदा छानबिन प्रभावित हुने भन्दै त्यसो गर्न नसकिने जवाफ दिए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल जगुरेलले रविलाई गृहमन्त्री दिन नसकिने बताए ।

‘त्यतिधेरै विवादमा परेको व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिँदा अन्तर्राष्ट्रिय जगतमै नेपालबारे कस्तो सन्देश जान्छ भन्नेबारे बुझ्नुपर्दैन ?’, गजुरेलले काठमाण्डुटुडेसँग भने, ‘रवि र रास्वपा दुवैलाई गृह मन्त्रालय दिन सकिँदैन ।’ उनले अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्री आफैंले राख्ने पनि बताए । रास्वपाले आफूले गृह मन्त्रालय नपाए सरकार छाड्ने भन्दै आइतबारसम्मको अल्टिमेटम दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us