रविलाई गृहमन्त्री बनाउन ओलीले दिए प्रचण्डलाई दबाब

काठमाण्डु टुडे २०७९ माघ २१ गते १०:५७ मा प्रकाशित

काठमाण्डु, २१ माघ– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

प्रधानमन्त्री भेट्न ओली शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । श्रोतका अनुसार ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्डलाई आग्रह गरेका छन् ।

दोहोरो नागरिकता विषयमा अदालतले विपक्षमा फैसला गरेपछि उपप्रधानसहित गृहमन्त्री र संसादबाट बर्खास्तीमा परेका लामिछानेले पुनः गैरसांसद हैसियतमा गहृमन्त्रीमा फर्कन चाहेका छन् । प्रचण्डसँगको छलफलअघि ओलीले शुक्रबार साँझ आफ्नै निवास बालकोटामा लामिछाने र ऊर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेका थिए ।

ओलीले सार्वजनिक रुपमै सत्तारुढ दलहरुबीचको पूर्वसहमतिका आधारमा गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने बताइसकेका छन् ।

तर, प्रधानमन्त्री प्रचण्ड दोहोरो राहदानी प्रकरणको छिनोफानो नभएकाले लामिछानेलाई गृहमन्त्री बनाउन नसकिने अडानमा छन् । बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले दुई दिनको अल्टिमेटम दिएको थियो । आफ्नो दललाई गृह मन्त्रालय नदिए आइतबार सरकारबाट बाहिरिने चेचावनी रास्वपाको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us