सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

काठमाण्डु टुडे २०७९ माघ ९ गते १६:५० मा प्रकाशित

काठमाण्डु ,९ माघ– संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरूले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद् राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको आज सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

सम्बन्धित मन्त्रालय र मातहतका निकायहरुसँग गहन छलफल गरी समयमा विद्यालयहरूले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले बताएका छन ।

बैठकमा विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी शैक्षिक सत्रबाट समयमै पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले गत वर्ष कक्षा १० को  स्वास्थ्य, जनसंख्या र वातावरण तथा कक्षा ८ को नैतिक शिक्षा असोजसम्म पनि नपाएको उल्लेख गर्दै अव त्यस्तो नहोस भन्ने कुरामा सम्बन्धित निकायलाई ध्यान दिनुपर्ने बताएका छन ।

प्राधानाध्यापक कँडेलले कागजको अभाव देखाएर आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तकको समयमै उपलब्धता गराउन नसक्ने अवस्थाको तत्काल अन्त्य हुने गरी कागज खरिदका लागि जिटुजी विधि अपनाउँदा उपयुक्त हुने बताएका छन ।

यता, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरुलाई उपलब्ध गराउने गरी आफूहरुले काम गरिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us