
काठमाण्डु,२ माघ– बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मूत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारी रहेका छन ।
उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन ।
दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते भएको प्रहरीले बताएको छ । शरीरमा समान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ ।
उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार रहेका थिए । ञआइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना.२६ प.२२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो ।
दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । दुर्घटनाको बारेमा सोमबार बिहान २ बजे मात्रै खबर पाएको प्रहरीले बताएको छ ।