
खोटाङ,२ माघ– खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा वेपत्ता किशोरी मृत भेटीएकी छन । खोटाङ जील्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् ।
हिजो (आइतबार) दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिएका छन ।
बालिका महेन्द्रोद्धय मावि हलेसीमा कक्षा १० मा अध्ययनरत रहेकी थिइन् । ३ पुसदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् ।
प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी हुन् ।
घट्नास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताएका छन ।
ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीले बताए । घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।