
काठमाण्डु, १८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सरकारी कर्मचारीलाई सामूहिक निर्देशन दिने भएका छन् ।
प्रधानमन्त्रीले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिव शंकरदास बैरागी, सबै मन्त्रालयका सचिवहरु तथा विभिन्न विभागका महानिर्देशक र कार्यालय प्रमुखहरुलाई भेला गरी सरकारका कामकारबाहीबारे जानकारी लिएका थिए ।
कार्यकारी प्रमुखका हैसियतमा प्रचण्डले विभिन्न मन्त्रालय र निकायका कामकारबाहीबारे जानकारी लिने काम थालेको मुख्यसचिव बैरागीले जानकारी दिए । बैरागीका अनुसार सचिवहरुले प्रधानमन्त्रीलाई मन्त्रालयका प्रगति र सेवा प्रवाहका क्रममा भोग्नु परिरहेका समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
बैरागीले यस्तै भेला भोलि (मंगलबार) पनि राखिएको बताए । बुधबारको भेलामा प्रधानमन्त्रीले सामूहिक निर्देशन दिने कार्यक्रम रहेको उल्लेख गरे । प्रचण्डले प्रधानमन्त्री भएलगत्तै आफ्नो सम्पूर्ण ध्यान विकास, सुशासन तथा चुस्त दुरुस्त सेवा प्रवाह गराउनमा हुने बताउँदै आएका छन् ।
सोमबार पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन गर्दै उनले यसपटक आफू थोरै बोल्ने र धेरै काम गर्ने गरी अघि बढेको उल्लेख गरेका थिए ।