
काठमाण्डु,१८ पुस– बाँकेमा दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ ।
चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । नेपालगञ्जमा आज बिहानको न्यूनतम तापक्रम ९ देखि १० डिग्री सेल्सियस रहेको राँझास्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका इञ्चार्ज पलबहादुर विकले बताएका छन ।
शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि नेपालगञ्जका प्रमुख चोक बजारक्षेत्रमा चहलपहल पनि घटेको छ । चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँग टोल–टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् ।
केही दिनयता चिसो बढ्दै गएका कारण नेपालगञ्जका अस्पतालमा चिसोका बिरामी पुग्ने क्रम फेरि बढेको बताइएको छ ।