
कञ्चनपुर, १८ पुस– हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूका साथबाट प्रहरीले सात राउण्ड गोली र एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताए । उनका अनुसार पक्राउ पर्नेहरुले नेपालमा आएर दिनमा गाउँघरमा साइकलमा विभिन्न सामान बिक्री गर्ने र गाउँघरको अवस्था बुझी राति समूह बनाएर लुटपाट गर्न आउने गरेको खुलेको छ ।
सीमा नाकास्थित विभिन्न गाउँमा राति हतियार देखाएर लुटपाट गर्ने घटना बढेपछि प्रहरीले सीमा नाकामा गस्ती बढाएको थियो । सोही गस्तीका बेला गत शुक्रबार राति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । ‘पुस १६ गते बैलौरीको बैसाखा नाकामा गस्तीमा रहेको प्रहरी टोलीले तीन भारतीय नागरिकलाई रोकेर खानतलासी गर्न खोज्दा तीनै जना भागेर नजिकैको उखुबारीमा पसे ।
प्रहरीले तत्कालै राजु ईन्द्रसीलाई नियन्त्रण लिएर उनको साथबाट चार राउण्ड ठूलो गोली, दुई राउण्ड सानो गोली र एक थान लोड गरिएको कटुवा पेस्तोल बरामद गरेको हो,’ उनले भने । पछि अन्य दुईजना उखुबारीबाट पक्राउ परेका हुन् । उनका अनुसार उखुबारीमा लुकेर बसेका अन्य दुईजनालाई स्थानीयको सहयोगमा करिब सात घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले पक्राउ गरेकामध्ये राजु ईन्द्रसी लखिमपुरमा मोटरसाइकल चोरीको आरोपमा लखनौ जेलबाट आठ महिना कैद भुक्तान गरेर २० हजार जरिवानामा गत साता मात्रै छुटेका थिए । ‘लुटपाटमा संलग्न अन्य दुई फरार छन्। उनीहरूको भारतीय प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको छ। दिनमा व्यापार गर्न नेपाल आउने र यहाँका अवस्था बुझेर राति समूहमा लुट्न आउने गरेको भेटिएको हो,’ उनले भने ।