प्रचण्डले दिएको बचन पूरा गर्ने बेला आयो: महरा

काठमाण्डु टुडे २०७९ पुष १७ गते १८:३७ मा प्रकाशित

काठमाण्डु,१७ पुस– नेकपा (माओवादी केन्द्र)का नेताहरुले लुम्बिनी प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएका छन । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य चाहिन्छ ।

सत्ता गठबन्धनको सबै भन्दा ठुलो दल एमाले (२९) प्रदेशसभासहित प्रदेशकै सबैभन्दा ठूलो दल हो । प्रत्यक्षमा ५ सहित जम्मा (९) सिट जितेको माओवादी तेस्रो दल हो । राप्रपा (४), नागरिक उन्मुक्ति पार्टी (४), जनता समाजवादी पार्टी (३) र जनमत पार्टी (३) को समर्थन जुटाउँदा बल्ल गठबन्धनको बहुमत पुग्छ ।

एमालेबाट आइतबार मात्र संसदीय दलका नेता चुनिएका लिला गिरी मुख्यमन्त्रीका उम्मेदवार हुन् । तर माओवादी नेताहरु लुम्बिनीको मुख्यमन्त्री गिरीलाई छाड्न तयार देखिएका छैनन् ।

नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा मुख्यमन्त्रीका निर्विकल्प उम्मेदवार हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयमा लामो समय काम गरेका महरा रोल्पा १ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।

पार्टी अध्यक्ष प्रचण्डले मुख्यमन्त्री बनाउने प्रतिवद्धतासहित आफूलाई प्रदेशमा पठाएकाले पनि पछाडि नहट्ने महराले बताएका छन । उनले प्रचण्डले दिएको यो प्रतिवद्धता पुरा गर्ने बेलाआएको बताएका छन ।

विगतमा सरकारको नेतृत्व छाड्दा आधार इलाकामा पार्टी झन् कमजोर भएकाले यो पटक नछाड्न १२ वटै जिल्लाका नेता कार्यकर्ताले नेतृत्वलाई दबाब दिएको माओवादी केन्द्रीय सदस्य विनोद बताएका छन ।

उनी भन्छन्, ‘संगठन र जनमतका हिसाबले लुम्बिनी प्रदेश माओवादीका लागि बलियो प्रदेश हो, यसपटक पनि मुख्यमन्त्री छाड्यो भने पार्टी झनै कमजोर हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us