
काठमाण्डु,१२ पुस– चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ रहेका छन् ।
निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको छ ।
कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ । त्यस्तै देवनगर र माडीबाट ल्याइएका दुई बाघ छन् । ती बाघ आठ वर्षदेखि १५ वर्षसम्मका रहेको तिवारीले बताएका छन ।
यसवर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो । अन्य बाघ अघिल्ला वर्ष ल्याइएका हुन् । निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी छैनन् ।
कसरामा रहेको एउटा पुरानोलाई खोर मर्मत गरिँदै छ । सन् २०२२ को बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको सङ्ख्या एक सय २८ रहेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्या ४१ छ । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।