
काठमाण्डु,११ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा गएको बताएका छन् ।
आज (सोमबार) नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तमे बताएका हुन ।
लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि सरकारमा सहभागी भएको बताएका छन ।
उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरू सहमत भएको उल्लेख गरे । त्यस्तै शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको उनले उल्लेख गरे ।
उनले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरूका लागि विशेष कार्यक्रम ल्याउने लगायतको विषयमा सत्तारुढ दलहरूका बीचमा साझा सहमति बनेको बताए ।
उनले भने, ‘हाम्रो सर्त भनेको भ्रष्टाचारका विरुद्धमा नयाँ, पुराना जति पनि विषयहरू छन् । तीनमा निर्मम भएर अधिकार सम्पन्न एउटा आयोग भन्नुहोस्, अथवा एउटा त्यस्तो संयन्त्र बनाउने भन्नेकुरामा हामीले सबभन्दा पहिला सबै पार्टीले त्यसमा सहमति गरेपछि, शिक्षा र स्वास्थ्यको बिलमा साझा प्रतिवद्धता गरिसकेपछि, विदेशमा रहेका नेपालीहरूको भोटिङ राइट जुन सर्वोच्च अदालतले दिनु भनेको छ त्यसको सुनिश्चतता मात्र होइन उहाँहरूको सामाजिक, आर्थिक र त्यहाँ काम गर्दाखेरी अलपत्र पर्दा, समस्या पर्दाखेरी त्यहाँ रेस्क्यु टिमसहितको प्रतिवद्धतासहित, नयाँ व्यवसायीहरूका लागि एउटा विशेष कार्यक्रम लगायतका विषयहरूमा हामीले साझा सहमति गर्छौ । सात, आठ बुँदाको हाम्रो तर्फबाट हुन्छ ।’