
काठमाण्डु,९ पुस– लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुङ्गिएको छ ।
आयोजनाले यसअघिको प्रस्तावित भैँसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको छ । उक्त रुटको टेन्डर आह्वान समेत भैसकेको छ ।
साढे ३५ किलोमिटर उक्त खण्डमा करिब ४ अर्ब खर्च हुने प्रस्ताव छ । तर, पोखरा १६ का बासिन्दाले रुट गलत मनसायबाट टुङ्ग्याइएको भन्दै अबरोध गरेका छन ।
स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाएको भन्दै उनीहरुले पोखरा महानगरमा धर्ना दिएका छन् ।स्थानीयलाई जानकारी नगराई पुनः रुट संशोधन गरेको भन्दै मध्य पहाडी लोकमार्ग सहरमा नझार्न उनीहरूको माग रहेको छ ।
माग पूरा गर्न स्थानीयले सङ्घर्ष समिति नै बनाएका छ । माग सुनुवाइ नहुँदासम्म महानगरको कार्यालय अगाडी धर्ना दिने समितिका सचिव सन्दीप थापाले बताएका छन ।
आयोजनाबाट व्यक्तिहरूको उठिबास लाग्ने र सुकुम्वासी बन्ने उनीहरूले बताएका छन । लमजुङको सीमानादेखि भैँसेसम्म र याम्दीदेखि पर्वतको सीमाना नयाँपुलसम्म काम करिब अन्तिम चरणमा छ । भैँसेदेखि याम्दी खण्डमा भने रुट छनोटमा ढिलाई हुँदा काम अघि बढ्न सकेको छैन ।