काँग्रेस प्रधानमन्त्री छाड्न तयार नभए एमालेसँग सत्ता सहकार्य गर्ने माओवादी तयारी

काठमाण्डु टुडे २०७९ पुष ९ गते १०:३० मा प्रकाशित

काठमाण्डु, ९ पुस– पहिलो कार्यकालमा को प्रधानमन्त्री बन्ने भन्ने विवाद बढेका बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज पुनः बस्ने भएको छ ।

प्रधानमन्त्रीसहित सत्ता बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धन बैठक बस्न लागेको हो । यसअघि बिहीबार र शुक्रबार प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड चुनावअघि प्रधानमन्त्री आधाआधा कार्यकाल हुने सहमतिअनुसार आफूलाई समर्थन गर्न देउवालाई आग्रह गरेका छन् । तर, देउवाले पार्टीमा छलफल गर्नुपर्ने बताएर पन्छिँदै आएको आरोप माओवादी नेताहरुको छ । राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिँदैछ ।

प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न देउवालाई शनिबार दिनभरको समय दिएका छन् । एक माओवादी पदाधिकारीका अनुसार देउवाले आज साँझसम्म निर्णय नदिए वैकल्पिक गठबन्धन निर्माणको प्रयास हुनेछ ।

प्रतिनिधिसभाको दोश्रो ठूलो दल एमालेले सत्ता सगबन्बन छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री दिन तयार रहेको बताइसकेको छ । पछिल्लो केही दिनयता दुई दलका नेताबीच भित्रभित्रै छलफल अघि बढेको छ । नेकपा विभाजनपछि एकअर्काविरुद्ध सार्वजनिक रुपमा कडा अभिव्यक्ति दिँदै आएका एमाले–माओवादीका नेताहरु पछिल्लो समय एकअर्काप्रति नरम छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us