कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि १३ गते चुनाव

काठमाण्डु टुडे २०७९ पुष ८ गते १०:४१ मा प्रकाशित

काठमाण्डु,८ पुस–कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि १३ पुसमा हेटौंडामा चुनाव गर्ने निर्णय गरेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता छान्न पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा चुनाव गर्ने निर्णय गरेको छ ।

निर्वाचन समितिले पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोधको समय तोकेको छ ।

पुस १२ गते दिउँसो ४ बजे दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने र पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस संसदीय दलको नेता छान्न मंसिर ४ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ बागमती प्रदेश सभामा निर्वाचित २५ जना र समानुपातिक तर्फ निर्वाचित १२ जना गरी ३७ जनाले मतदान गर्नेछन् ।

संसदीय दलको नेता बन्न अहिलेसम्म बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाले इच्छा देखाएका छन् । बानियाँ मकवानपुर २ (२) बाट र लामा नुवाकोट २ (२) बाट निर्वाचित भएका थिए ।

दुवै नेता संस्थापन निकट हुन् । गत मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us