
काठमाण्डू, ७ जेठ– नागढुंगा–नौबिसे सडकखण्डको विस्तार तथा सुधार कार्यका लागि आगामी १० जेठदेखि २५ गतेसम्म प्रत्येक दिन साढे ४ घण्टा सवारी आवागमन रोकिने भएको छ ।
निर्माण कार्य प्रभावकारी बनाउन अब रातसँगै दिनको समयमा पनि सडक बन्द गरिने निर्णय लिइएको हो ।
काठमाण्डू उपत्यकाबाट पश्चिमतर्फ जाने प्रमुख नाकाको रूपमा रहेको यो सडक खण्डमा हाल मोड सुधार, चौडाइ वृद्धि र कालोपत्रे गर्ने काम भइरहेको छ ।
यसअघि वैशाख अन्तिम सातासम्म रातको समयमा मात्र सडक बन्द गरेर निर्माण कार्य भइरहेको थियो । तर, निर्माणको प्राविधिक पक्षलाई मध्यनजर गर्दै अब दिनको समयमा पनि सडक पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, सडक निर्माण आयोजनाको प्रस्तावका आधारमा र धादिङ प्रशासनसँगको समन्वयमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सडक प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो ।
स्थानीय प्रशासनले सडक बन्दका कारण सवारी आवागमनमा असर पर्ने भएकाले स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । यात्रु तथा सवारी चालकहरूले धार्के–सितापाइला मार्ग वा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न सक्ने छन् ।
निर्धारित समयावधिमा काठमाण्डूबाट बाहिरिने गाडीहरू नागढुङ्गामा र बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरू खानीखोलामा रोकिनेछन् ।