रवि लामिछानेले काँग्रेस प्रवेश गर्न चाहेको खुलासा !

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते ८:२० मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– काँग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस प्रवेश गर्न खोजेको खुलासा गरेका छन् ।

रविले पार्टी खोल्नुअघि नै काँग्रेस प्रवेश गर्ने सन्देश आफूसम्म पठाएको बताए । आफूले पार्टीका केही नेतालाई रविको चाहनाबारे प्रस्ताव लगे पनि पछि उक्त विषय सेलाएको उनको भनाइ थियो । श्रेष्ठ चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा लामिछानेसँग पराजित भएका थिए ।

‘रविजीले आफ्ना साथीहरुमार्फत काँग्रेसमा प्रवेश गर्छु भन्नुभएको हो’, ऋषि धमलासँगको अन्तर्वार्तामा श्रेष्ठले भनेका छन्, ‘मैले केही ठाउँमा गएर त्यो कुरा भनेको हुँ । पछि उहाँले आफैं खोल्नुभयो त्यो कुरा त्यसै सेलायो । एकदुई ठाउँमा नेताहरुलाई मैले भनें, उहाँहरुले सिरियस्ली लिनुभएन । उहाँ (लामिछाने) ले पनि फलोअप गर्नुभएन ।’

कोभिड–१९ महामारीका बेला आफूले रविलाई जनमैत्री अस्पताल चलाउन दिएको र त्यसबाट पपुलर भए पनि पछि लामिछाने आफैंसँग चुनाव लड्न आएकामा श्रेष्ठले दुःखेसो पोखे । उनले आफूले मनोनयन दर्ताको अघिल्लो दिन रविलाई भेटेर एकै क्षेत्रमा नलडौं भनेको पनि उल्लेख गरे ।

‘पहिले काठमाण्डुमा चुनाव लड्ने कुरा थियो । त्यसपछि गएर तीन नम्बर क्षेत्रमा लड्ने करो थियो । पछि आएर २४ घण्टा अगाडि तीन नम्बर क्षेत्रमा आउनुभयो । मैले भेटेरै तपाईं किन यहाँ आउनुभयो भनेर सोधेको थिएँ । परिस्थिति यस्तै भयो यहाँ आउनुपर्ने भयो भन्नुभयो । हामीहामी प्रतिस्पर्धा नगारौं भन्दा हेरौं सर भन्नुभएको थियो’, उनले भने । उनले चुनाव हारे पनि राजनीति नछाड्ने बताए । केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने र चितवन, ललितपर वा भोजपुरमध्ये एक ठाउँबाट अर्को चुनाव लड्ने योजना रहेको उनको भनाइ थियो ।

चितवन सम्भावना भएको ठाउँ भए पनि मिडियामा गफ गरेको जस्तो लामिछानेले विकासका काम गर्न नसक्ने ठोकुवा श्रेष्ठले गरे । ‘चितवन सम्भावनै सम्भावना भएको ठाउँ हो । त्यहाँ धेरै गर्न सकिन्छ । पर्यटन र शिक्षाको हब बनाउन सकिन्छ’, श्रेष्ठले भने, ‘जनताले कुरा बुझेनन् । हावा हुण्डरी आयो, गल्लीगल्लीमा पुगेर विकास हुँदैन नीति चाहियो, पैसा चाहियो योजना चाहियो । मिडियाकर्मीले जसरी भनेर विकास हुँदैन । सबै विधायक सडकमा जान थाल्यो भने भोलिको स्थिथित के होला ? विधायकहरुले नीति निर्माण गर्ने हो, विदेशी लगानी ल्याउने हो, पार्लियामेन्टमा बसेर वातावरण बनाउने हो । विकास निर्माण यसरी हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us