प्रतिगामी शक्तिलाई मत नदिन प्रचण्डको अपिल

काठमाण्डु टुडे २०७९ असोज १६ गते ९:११ मा प्रकाशित

काठमाण्डु, १६ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिगामी शक्तिलाई मत नदिन अपिल गरेका छन् ।

बडादसैंलगायत मुख्य चाड पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले प्रतिगमनविरोधीलाई जिताउन मतदातालाई अपिल गरे । गणतन्त्र र संघीयताको रक्षा तथा सुदृढीकरणका लागि प्रतिगमनकारी शक्ति पराजित हुनुपर्ने र प्रतिगमनविरोधीले जित्नुपर्ने उनको भनाइ छ ।

‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमनविरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु’, सन्देशमा उनले भनेका छन् ।

प्रचण्डले नेपालका चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको बताए । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएको चर्चा गर्दै प्रचण्डले नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता भएको स्पष्ट गरे ।

‘हाम्रा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो’, प्रचण्डले भनेका छन्, ‘हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us