टोलटोलमा प्रचण्डको शालीक बनाएर पूजा गर्ने दिन आउँछः पुन

काठमाण्डु टुडे २०७९ साउन ३१ गते २०:३४ मा प्रकाशित

रामेछाप, ३१ भदौ– नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा शालीक बनाएर पूजा गर्ने समय आउने बताएका छन् ।

१९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डााडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रुपमा प्रचण्डको शालीकमा पूजा गर्ने दिन आउने दाबी गरे ।

प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए ।
गणतन्त्र नेपालका पहिलो राष्टपति डा. रामवरण यादव र वर्तमान राष्टपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटकपटक आफूहरु राष्टपति हुनुमा माओवादी योगदानको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उल्लेख गरे । पूर्वराष्टपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पु-याएको बताउने गरेको उनले सुनाए ।

०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल हाल संसदमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए ।
महिलाको नाममा धनी पूर्जाको नीतिले छोरीहरु सम्पत्तिको मालिक भएको, अंश र बंशमा छोरीको अधिकार स्थापित भएको, आमाको नामबाट पनि नागरिकता पाउने अवस्था निर्माण भएको तथा हरेक स्थानीय तहमा प्रमुख वा उप्रमुखमध्ये एक अनिवार्य महिला हुनैपर्ने जस्ताउपलब्धी माओवादीकै कारण आएको उनले चर्चा गरे ।

माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको भन्दै आपत्ति जनाए । ‘मधेसी जनता, महिला, जनजाति, दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो’, उनले भने, ‘अहिले प्रचण्डको धेरै गाली गरेको सुनिन्छ । तर, समाज रुपान्तरण र जागरणका लागि खेलेको भूमिकाका कारण कुनै दिन चोकचोकमा प्रचण्डको शालीक बनाएर पूजा गर्ने दिन आउँछ ।’

पुनले माओवादी आन्दोलनका उपलब्धी स्वरुप विभिन्न पदमा पुगेका मानिसहरुले नै माओवादीले आतंक मच्चाएको आरोप लगाउन नसुहाउने उनले बताए । माओवादी जनयुद्धका शहीद परिवार, घाइते र योद्धाहरुको सुरषा र सम्मान हुनुपर्नेमा उनले जोड दिए ।

दोरम्बा घटना मानवताविरोधी अपराध
पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएकाले संक्रमणकालीन कानून बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने उल्लेख गरे । सरकार–माओवादी शान्तिवार्ता भइरहेका बेला आफ्ना निहत्था कार्यकर्ताको सामूहिक हत्या भएको भन्दै उनले दोषीमाथि कारबाही र परिवारको सम्मान हुनुपर्नेमा जोड दिए ।

‘अन्तर्राटिय समुदायले उतिबेलै युद्धबिराम सम्झौता उल्लंघन गरेर निसस्त्र अवस्थामा गिरफ्तारीपछि भएको दोरम्बा हत्याकाण्ड मानवताविरुद्धको अपराध भएको बताएको थियो । सैनिक जनरलहरुले पनि माथिको आदेशबिना भएको घटनामा गल्ती भएको हो भन्नुभएको छ’, पुनले भने, ‘यस्ता घटनामा संलग्नहरुलाई नसिहत हुनुपर्छ, कारबाही हुनुपर्छ ।’ माओवादी र सरकारबीच दाङको हापुरेमा दोश्रो चरणको शान्ति वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते तत्कालीन शाही नेपाली सेनाले तत्कालीन रामेछाप जनसरकार प्रमुख बाबुराम तामाङसहित २१ माओवादी कार्यकर्तालाई निशस्त्र अवस्थामा नियन्त्रणमा लिएर सामूहिक हत्या गरेको थियो ।
आफूहरुले जनयुद्धका क्रममा जेनेभा महासन्धिको पूर्ण पालना गरेको चर्चा पुनले गरे । उनले निहत्था अवस्थामा कब्जामा लिएका सेना र पहरीको कतै पनि हत्या नगरेको पुनले उल्लेख गरे । रोल्पाको होलेरी, रुकुमको राडी, सिन्धुलीको सिन्धुलीगढी, रुकुमको महतसहित दर्जनौं स्थानमा भएका भिडन्तमा निशस्त्र अवस्थामा नियन्त्रणमा लिएका प्रहरीलाई रेडक्रसको अन्तर्राष्टिय समिति र मानवअधिकारवादी संघसंस्थाको जिम्मा लगाइएको घटना उनले स्मरण गरे । ‘रुकुमको महतम चौकी कब्जा गर्ने क्रममा हामीले डिएसपी ठूले राईलाई नियन्त्रणमा लियौं । धेरै दिन मसँगै राखें । पछि हामीले राज्यलाई बुझायौं’, उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि हामी सरकारमा गयौं । डिआईजी र एआईजी बढुवा हुने बेलामा सहयोग ग¥यौं । अहिले पनि उहाँको हामीसँग राम्रै सम्बन्ध छ’, उनले भने । तर, शान्ति प्रक्रियाका नममा डलरका खेती गर्ने गिरोहले माओवादीलाई हत्यारा र आतंककारी करार गर्ने प्रयास गरिरहेको भन्दै पुनले आक्रोश पोखे ।

डलरवादीहरुले सेना समायोजन र संविधान निर्माण प्रक्रिया रोकन गरेको वयवसाय नेपालीहरुकै निर्णयमा असफल पारिएको भन्दै उनले शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको संक्रमणकालीन न्यायको काम पनि नेपालीकै निर्णयमा हुने बताए । पार्टीको नीतिविपरीत भएका चितवनको माडीजस्ता घटनाका दोषीलाई उन्मुक्ति दिनुपर्छ भन्नेमा आफूहरु पनि नरहेको उनले स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us