विराटनगरमा चक्रपथ बनाउने सरकारको घोषणा

काठमाण्डु टुडे २०८१ वैशाख १४ गते १५:४५ मा प्रकाशित

काठमाडु, १४ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।’

कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्‍याउने र जनताको जीवनस्तरमा सुधार ल्याउने गरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले रणनीतिक महत्त्व बोकेको विराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने प्रतिबद्धता जनाए ।

पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताए । विश्वविद्यालयहरुले जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञानसीपको संवर्द्धन, कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा योगदान गर्नुपर्ने औंल्याए ।

अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us