अशोक राई नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

काठमाण्डु टुडे २०८१ वैशाख २४ गते १८:१३ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ ।

आयोगको सोमबार बसेको बैठकले राई नेतृत्वको नयाँ दललाई सोमबार वैधता दिएको हो । आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले नयाँ दल दर्ता भएको जानकारी दिए । राईसहित ७ सांसदले आइतबार नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३, राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी प्रावधानअनुसार नयाँ दल दर्ता भएको सहायक प्रवक्ता पाण्डेयले बताए ।

‘जनता समाजवादी पार्टी (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ,’ पाण्डेयले काठमाण्डुटुडेसँग भने ।

उनका अनुसार नयाँ दलबारे आयोगले संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई विवरण लेखी पठाउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us