म प्रधानमन्त्री हुँदा पैसैपैसा थियो, अहिले कहाँ हरायो ?

काठमाण्डु टुडे २०७९ साउन २९ गते ११:०० मा प्रकाशित

काठमाण्डु, २९ साउन– एमाले अध्यक्ष केपी ओलीले नेता आडम्बर र पाखण्डी हुन नहुने बताएका छन् ।

आइतबार काठमाण्डुमा आयोजित ‘युवासँग केपी ओली’ कार्यक्रममा उनले नेताले आडम्बरी त्याग्न सके मुलुकको विकास हुने बताए । ओलीले आफू वर्तमान सरकारको विरोधमा नभए पनि परिस्थितिले नै कटाक्ष गर्नुपरेको उनको भनाइ थियो सेटिङमा बजेट बन्दा र व्यापारीले करका दर तोक्दा आफ्नो मन पोल्ने ओलीले बताए ।

आफू प्रधानमन्त्री छँदा देशमा पैसाको छेलोखेलो भए पनि अहिले पैसा रित्तिएर विकास निर्माणको काम ठप्प भएको दाबी गरे । आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग, धरहरा रानीपोखरी, दरबार हाइस्कुल, आर्मी हेडक्वाटर बनेको र ३ सय ९६ वटा अस्पताल एकै ठाउँबाट शिलान्यास गरेको चर्चा उनले गरे ।

‘अहिले विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ ? पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो ?’, उनले भने । त्यति धेरै पैसा कसरी हरायो भन्नेमा आफू चिन्तित भएको ओलीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us