आज जनैपूर्णिमा, देशभर सार्वजनिक बिदा

काठमाण्डु टुडे २०७९ साउन २७ गते ९:१४ मा प्रकाशित

काठमाण्डु, २७ साउन– हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ । जनैपूर्णिमा र रक्षा बन्धनको अवसरमा सरकारले आज देशभर सार्वजनिब बिदा दिएको छ । कोरोना महामारीको चौथो लहर बढेका कारण सामाजिक दूरी कायम गरी पर्व मनाउन सरकारले सबैमा आग्रह गरेको छ ।

जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै (यज्ञोपवित) फेर्नुका साथै हातमा रक्षाबन्धन धारण गर्ने परम्परा छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । आजको दिन
तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँध्ने प्रचलन पनि छ । यस्तै नेवारी समुदायमा क्वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर यो पर्व मनाउने प्रचलन छ । यस दिनमा बिहान नुहाइ धुवाइपछि जौ, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा जनै र रक्षाबन्धन धारण गर्ने प्रचलन रहिआएको संस्कृतिविदहरु बताउँछन् । आजकै दिन मन्त्रिएको जनै वर्षभर धार्मिक कर्ममा प्रयोग गरिन्छ ।

यस्तो छ जनै पूर्णिमा र रक्षा बन्धनको महत्व
वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ । संस्कृतिविद् गोविन्द टन्डनका अनुसार जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा लिइन्छ ।
जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ । यस दिन काठमाण्डुको पशुपतिनाथ र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्दैछ । यस दिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउँछन् भनने जनश्रुती छ । यसै दिन तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ। यस दिन दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन् । पछिल्ला वर्षमा पहाडी समुदायमा पनि राखी बाँध्ने चलन बढ्दो छ ।

क्वाँटी खाने, भ्यागुता पूजा गर्ने

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । यस समुदायमा नौवटा गुडागुडी मिश्रण गरिएको क्वाँटी खाने प्रचलन छ । पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ । अन्य समुदायका मानिसले जनै फेरेर क्वाँटी खाने गर्छन् । टुसा पलाएको पौष्टिक तत्वयुक्त क्वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् ।

यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन् ।भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो । ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्वाँटी दिएर पूजा गरिएको हो ।

क्वाँटी विशेष गरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गुडागुडीको मिश्रणबाट बनेको हुन्छ। यसले शरीमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्ने शरीरलाई शक्ति दिने भएकाले यस दिन क्वाँटी खाने चलन रहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us