कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण

काठमाण्डु टुडे २०७९ साउन २६ गते ७:१८ मा प्रकाशित

काठमाण्डु, २६ साउन– साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ ।

बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ । मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, पछिल्लो समय संक्रमितको संख्या धेरैले बढेको छ । संक्रमितसँगै मृत्युदर पनि बढेको अधिकारी बताउँछन् । बुधबार मात्रै ३ संक्रमितले ज्यान गुमाए ।

संक्रमणदर वृद्धि हुँदै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरूको तर्क छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारी आगामी दुई साता संक्रमणदर उच्च रहने पूर्वानुमान गर्छन् । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us