युवा संघको विवादले पर्वतमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते

काठमाण्डु टुडे २०८२ वैशाख २४ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा झड्प भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् ।

एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा रहेको बताइन्छ । गोविन्द गिरीको पहलमा फेरि भेला राखेर अधिवेशन हुने बेलामा जिल्ला अध्यक्ष, सचिवसहित पौडेल पनि कार्यक्रम गर्न नहुने पक्षमा गएपछि झडपको अवस्था सिर्जना भएको हो ।

विवादका कारण पौडेलमाथि प्रहार भएर अस्पताल नै भर्ना भएका छन् । राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो । पौडेललगायतले कार्यक्रम रोक्नुपर्ने भन्दै आफैंमाथिसमेत आक्रमणको प्रयास भएपछि कार्यकर्ताले प्रतिरक्षा रहेको एमाले जिल्ला अध्यक्ष गोविन्द गिरीले जानकारी दिएका छन ।

‘यो अधिवेशन रोक्नुपर्छ भनेर पौडेलसहित टोली आएर ममाथि पनि जाइहाल्ने काम भयो । यो अधिवेशन होइन, विस्तारित बैठक हो,’ गिरीले भने, ‘अहिले कार्यक्रम भइरहेको छ, सामान्य विवाद भएको हो ।’ केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्जार्च पर्वत भण्डारीले चैत १५ गतेभित्र अधिवेशनका लागि समयसीमा तोकिएको र त्यो अवधिमा पनि नभएपछि जिल्ला इन्चार्जकै संयोजकत्वमा आयोजक कमिटी बनाउने निर्णय भएको बताए ।

आयोजक कमिटी बनाउने योजनासहित कार्यक्रम भइरहेको भए पनि युवा संघ जिल्ला अध्यक्ष विनोद थापाले बहिस्कार नै गरेका छन् । गण्डकी इन्चार्ज भण्डारीले जिल्ला अध्यक्ष थापा सम्पर्कमा नै नरहेको पनि उनले बताएका छन । एउटा समूहको विरोधकाबीच कार्यक्रम भने अहिले भइरहेको जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।

एउटा समूहले भने विधि मिचेर अधिवेशन डाकिएको र आफूहरूमाथि सुनियोजित रुपमा हमला गरिएको बताएका छन् । पर्वतबाट निर्वाचित प्रदेश सभा सदस्य भक्त कुँवरले एउटा समूहको असहमतिकाबीच कार्यक्रम राखिएपछि आक्रमण नै हुनेगरी विवाद उत्पन्न भएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us