प्रचण्डसँग चुनाव लड्दिन, जुम्ला जान्छुः शाही

काठमाण्डु टुडे २०७९ साउन २३ गते ११:२८ मा प्रकाशित

चितवन, २२ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ८ मध्येका एक प्रवक्ता ज्ञानेन्द्र शाही आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् ।

शाहीले उम्मेदवारी घोषणाका लागि आज पत्रकार सम्मेलन गर्दैछन् । जुम्लाका स्थायी बासिन्दा शाही केही समयअघिसम्म अभियन्ताका नाममा सरकारी कार्यालयमा युट्युर लिएर छापा मार्दै हिंड्थे । कोरोना महामारीका कारण गरिएको लकडाउनमा राहतका नाममा धन्दा गरेको तथा संक्रमण फैलाएको आरोपमा उनलाई ललितपुर प्रहरीले पक्राउसमेत गरेको थियो ।

‘नेपालका लागि नेपाली’ अभियानका नाममा गतिविधि गर्दै आएका उनलाई अनुशासनहीनताको आरोपमा अभियानले निष्काशन गरेपछि केही समय सरकारी अड्डामा ज्ञापनपत्र बुझाउने काम गर्दै हिंडे ।

महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित भएपछि शाही राप्रपा प्रवेश गरेका हुन् । शाहीले आफूलाई चितवन क्षेत्र नम्बर–३ बाट चुनाव लड्न सुझाव आए पनि जन्मभूमिका नाताले जुम्ला जान लागेको बताए । चितवन–३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो ।

एक मात्र निर्वाचन रहेको जुम्लाबाट २०७४ को निर्वाचनमा माओवादी केन्द्रका गजेन्द्र निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us