अर्थ मन्त्रालयले भन्योः जेठ १४ गते रातिको सीसीटिभी फुटेज डिलिट भयो

काठमाण्डु टुडे २०७९ असार १९ गते १९:३० मा प्रकाशित

काठमाण्डु, १९ असार– अर्थ मन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद बैठकमा बजेट भाषण प्रस्तुत गर्नुभन्दा एक दिनअघि १४ जेठको सिसी टिभी फुटेज डिलिट भएको जनाएको छ ।
बजटे निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरु अर्थ मन्त्रालयमा प्रवेश गरी अमुक स्वार्थ समूहलाई फाइदा हुने गरी करका दर परिवर्तन गरेको भन्ने समाचार सार्वजनिक भएको थियो । प्रमुख प्रतिपक्षी एमालेले सिसी टिभी फुटेज माग गर्दै प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माले एमालेले भन्दैमा सिसि टिभी फुटेज दिन जरुरी नभएको जवाफ दिए । उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय संस्था उपभोक्ता हित संरक्षाण् मञ्चले सूचनाको हकसम्बन्धी अधिकार प्रयोग गर्दै अर्थ मन्त्रालयसँग सो दिनको फुटेज मागेको थियो । तर, जवाफमा अर्थले १३ दिनभन्दा पछिको सिसिटिभी फुटेज स्वतः हट्ने भन्दै दिन असम्भव भएको जवाफ दिएको छ ।
मञ्चले २०७८ साल भदौ २४ गते राति ११ देखि २५ गते बिहान ६ बजेसम्मको र यो वर्षको जेठ १४ गते बेलुका ६ देखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेजको माग गरेर असार १४ गते निवेदन दिएको थियो । यसैबीच
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले मन्त्रालयले सूचना दिन इन्कार गरेकाले अब कानुनी बाटोबाट अघि बढ्ने बताए । ‘सीसीटिभी फुटेजको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिंदै जाने छ’, अर्थले दिएको जवाफमा भनिएको छ । तर, गृह मन्त्रालयले जारी गरेको सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधिमा ३ महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us