१० प्रतिशत सरकारी कर्मचारीको दरबन्दी काटिँदै

काठमाण्डु टुडे २०७९ जेठ २६ गते ७:३४ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ ।
सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सङ्घीय निजामती र अन्य सेवाका कर्मचारीको दरबन्दी १० प्रतिशतले कटौती गर्ने उल्लेख गरिएको छ । बजेटअनुसार सरकारले कर्मचारी कटौती गर्ने प्रक्रिया अगाडि बढाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले प्रशासनिक सेवालाई चुस्त दुरुस्त पारी प्रशासनिक सुधार गर्न कर्मचारी कटौती गर्नेगरी बजेटमा उल्लेख गरिएको बताए ।

उनका अनुसार थोरै कर्मचारी सङ्ख्या भए पनि सेवा सहज र प्रभावकारी हुने कार्यालयका अनावश्यक दरबन्दी कटौती हुनेछन् । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us