विजयी जुलुसमा जाँदा देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा सात जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ जेठ २ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, २ जेठ– देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

आइतबार साँझ र सोमबार भएको दुर्घटनामा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई जितको खुसीयालीमा शुभकामना दिन गइरहेकाको मोटरसाइकल दुर्घटना हुँदा, विजयउत्सव मनाउन जाँदा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा र विजयी जुलुसका लागि मान्छे लिन गइरहेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

आइतबार राति जितको खुसीयालीमा बधाई दिन हिँडेका दुईजनाको रसुवामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए ।

यस्तै दार्चुलाको गोकुलेश्वरतर्फ विजय जुलुसमा सहभागी गराउन मान्छे लिन जानेक्रममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालकसमेत रहेका शैल्यशिखर नगरपालिका–६ का प्रकाश धामी, सहचालक नवीन सिंह धामीको परिचय खुलेको र अर्का एक मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us