विसं २०७८ : प्राकृतिक विपत्तिले सताएको वर्ष

रासस २०७९ वैशाख ५ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख–  मेलम्चीको पानी काठमाडौंवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए । यतिका वर्षको पर्खाइपछि मेलम्ची खोलाको पानी गत वर्ष काठमाडौँसम्म आइ त आइपुग्यो तर लामो समय रहन भने सकेन ।

मनसुन सुरु भएकै दिन गत असार १ गते सिन्धुपाल्चोकमा भीषण बाढी आयो । वर्षाको आगमन नहुँदै त्यसरी भीषण बाढी आउला भन्ने कल्पनासम्म पनि थिएन स्थानीयको । त्यस दिनको बाढीले यति विपत्ति ल्याइदियो कि यहाँका कैयौँ स्थानीयको ज्यान लियो र भौतिक सम्पत्ति नष्ट गरिदियो । यी स्थानीयको सपनासँगै काठमाडौँवासीको सपना पनि त्यो बाढीले बगाइदियो । मेलम्ची खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाका केही संरचना नै बगाइदियो ।

त्यसदिन हेलम्बु र मेलम्चीवासी कहालीलाग्दो विपद्मा परे । ठूलो जनधनको क्षति भयो । कैयौँका थातथलो मेलम्ची नदीको बगरभित्रै विलाएर गयो भने केहीको बासै उठीबास लगायो । दशकौँदेखिको काठमाडौँ उपत्यकावासीको मेलम्चीको पानी खाने सपना पूरा हुनै लाग्दा फेरि हरायो । उपत्यकावासीले प्यास नमेट्दै पानी उतै थुनियो । बाढीले पुल, सडक, पानीको मुहानमा गम्भीर असर पारेकाले कैयौँ दिन स्थानीयको मुखमा गाँस पनि परेन । एकातिरको विपद् थेग्न यो मुस्किल परिरहेका बेला उता हिमाली जिल्ला मनाङमा पनि बाढीले वितण्डा मच्चायो । घर, खेत, विद्यालय, सामुदायिक भवन भत्किए, बगे । कहाँ पानी प¥यो अनि कहाँबाट एक्कासी त्यस्तो बाढी आयो कसैले भेउ पाएनन् ।
विगतका इतिहासमा यसरी बाढी आएको नदेखेको त्यहाँका स्थानीय बुढापाकाको अनुभव छ । पहाडी भेग बझाङ, कालीकोट, म्याग्दी, रुकुमलगायत जिल्लामा पहिराको पिरले छाडेन । हल्का वर्षामै पहाड चिरा परेर भेल पहिरोले घर, गाउँको बासै उठायो ।
कतिपय स्थानमा सञ्चार सम्बन्ध नै विच्छेद हुँदा उद्धार र राहत पु¥याउन तीन चार दिन लाग्यो । अहिले पनि चिराचिरा परेका पहाडले भोलिको भेलपहिराको निम्तो गरिरहेको सङ्केत दिएजस्तो लाग्दछ । नेपाल भौगोलिक विविधताले जति प्रख्यात छ, बहुप्रकोपको लहरले उति नै जोखिम पनि छ । बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट नेपाल प्रभावित देश हो ।
जलवायु परिवर्तनको असरका कारण तापक्रम बढ्दै जानुका साथै वर्षा पनि अनियमित हुने गरेको छ । परिणामतः खडेरी, बाढी तथा प्रतिकूल मौसम जस्ता प्राकृतिक प्रकोपको सामना गरिरहनुपरेको छ । यसका कारण कतैकतै महामारी र सुक्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकूल असर परिरहेको छ । जलवायु परिवर्तनकै असरका रुपमा २०७८ कात्तिक पहिलो साता आएको बेमौसमी बाढीलाई पनि लिन सकिन्छ । यो प्रकोपमा परी १०० बढीले ज्यान गुमाए । अर्बौंको भौतिक क्षति बेहोर्नु प¥यो ।
मुस्ताङको टुक्चेपिकमा कात्तिक २८ मा अकस्मात हिमपहिरो गयो । जलवायु परिवर्तन विज्ञ डा ङमिन्द्र दाहालले यो असामान्य घटना भएको  सुनाए । “मेलम्ची खोला अकल्पनीयरुपमा उर्लेर तहसनहस पार्नेगरी आयो, कात्तिक पहिलो साता बेमौसममा ठूलो क्षति हुने गरी भारी वर्षा भयो, सामान्यतया हिउँ जम्ने बेलामा कात्तिकमै हिउँ पहिरो खस्नु भनेको जलवायु परिवर्तनको प्रत्यक्ष असर हो”, दाहालले भने । प्राकृतिक र मानव सिर्जित विपद्को महामारी नेपालमा हरेक वर्ष बढ्दो छ । प्राकृतिक विपद् भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू–स्खलन, डुबान, खडेरी, आँधी, हुरीबतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी विष्फोट, डढेलो आदि भनेर बुझिन्छ ।
मानवसिर्जित विपद्मा महामारीजन्य रोग, अनिकाल, पशुरोग,  चराचुरुङ्गीबाट हुने बर्डफ्लू, सर्पदंश, जनावर आक्रमण खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त ग्यास, रसायन एवं विकीरण चुहावट तथा ग्यास विष्फोटनले ल्याउने विपद्लगायत बुझिन्छ । युनिसेफले गरेको एक अध्ययनअनुसार विगत २५ वर्षमा देशका ८६ प्रतिशतभन्दा बढी घरधुरीले कुनै न कुनै प्रकारले खडेरीको सामना गर्नुपरेको छ । बाढी र पहिरो र यससँग सम्बन्धित जोखिम विद्यमान उच्च गरिबी र खानेपानी तथा सरसफाइ जस्ता अत्यावश्यक सेवाको पहुँचसँग मिसिन जान्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us