एमाले नेताद्वारा राष्ट्रियसभा चुनावमा हार स्वीकार

काठमाण्डु टुडे २०७८ माघ १२ गते १५:१२ मा प्रकाशित

पोखरा, १२ माघ– एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै चरणमा सम्भव नरहेको बताएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा तीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल चलिरहेका बेला प्रतिपक्षी दलका नेता गुरुङको यस्तो भनाइ बाहिर आएको हो । ‘एक तहको निर्वाचनसमेत एकै चरणमा सम्भव छैन, कसरी तीनै तहको एकैपटक हुन्छ ?’, राष्ट्रियसभा सदस्यमा मतदान गरेपछि बुधबार पोखरामा उनले सञ्चारकर्मीसँग भने ।

पहिला स्थानीय तह र त्यसपछि संघ तथा प्रदेशको चुनाव हुनुपर्ने उनको भनाइ थियो । गुरुङले गठबन्धनको स्वार्थ हेरेर निर्वाचनमा आलटाल नगर्न आग्रह गरे । ‘सुल्टो बाटो भनेको पहिला स्थानीय तह र त्यसपछि संघ र प्रदेशको चुनाव हो’, गुरुङले भने, ‘सत्ताधारी गठबन्धनले आफ्नो स्वार्थ नहेरी समयमै चुनाव गराओस्, यसमा आलटाल गर्न मिल्दैन ।’

फरक प्रसंगमा उनले राष्ट्रियसभा निर्वाचनमा आफ्नो दलको हार हुने स्वीकार गरे । निर्वाचनका मतदाता पूर्वनिर्धारित भएकाले परिणाम स्वीकार गर्न आफूहरु मानसिक रुपमा तयार रहेको स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us