बाबुराम र उपेन्द्र आ–आफ्नो बाटो लाग्ने तयारीमा !

काठमाण्डु टुडे २०७८ माघ २ गते ८:५४ मा प्रकाशित

काठमाण्डुु, २ माघ–  विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद देखिएको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट देखिएको छ । भट्टराई पक्षधर नेताले उनलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग गरेका छन् ।

जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपामा कार्यकारिणी अध्यक्षको एक पद खाली छ । ठाकुरले पार्टी छाडेपछि रिक्त सो पदमा भट्टराईलाई ल्याउनुपर्ने उनी पक्षधर नेताहरूको माग छ । जसपा विधानमा दुईजना कार्यकारिणी अध्यक्ष हुने व्यवस्था छ । यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन् ।

सबै कार्यकारी अधिकार यादवसँग रहेकाले भट्टराई पक्षधर नेताहरू असन्तुष्ट भएका हुन् । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्दा कार्यकारिणी अध्यक्ष यादवले एकलौटी निर्णय गरेको भट्टराई पक्षधर नेताहरूको आरोप छ। नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us