
काठमाण्डू, ४ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो हुँदा देश बलियो हुने दाबी गरेका छन ।
मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा आज (आइतबार) दैलेखमा आयोजित सभामा प्रचण्डले माओवादी बलियो हुँदा दलित, मजदुर, महिलाहरु बलियो हुने बताएका हुन । माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आउने समयमा माओवादी बलियो हुँदा दलित बलियो हुनेछन्, माओवादी बलियो हुँदा महिलाहरु बलियो हुनेवाला छन् ।
माओवादी बलियो हुँदा मजदुर र किसानहरु बलियो हुनेवाला छन्, ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुनेवाला छ ।’ माओवादी बलियो हुँदा देश बलियो हुने भएकैले आफू ३० वर्षको जवान जस्तोगरी दौडिरहेको उनले बताए ।
‘म अरु नेताहरु (आफ्ना पार्टीका) भन्दा एक दुई वर्ष जेठो छु । ७० नाघेपनि तपाईँहरुले देख्नु भाछ नि २५÷३० वर्षको जवान जस्तोगरी देशभर त्यसै दौडेको होइन । बाँकी क्रान्ति पुरा गर्ने उद्देश्यले दौडेको हो’, उनले भने ।
अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग माओवादीको प्रस्तावमा बनेकाले पनि पार्टीले अभियान चलाइरहेको उनले बताए । ‘मध्य पहाडी लोकमार्गको प्रस्ताव माओवादी केन्द्र हो, त्यसको प्रस्तावक प्रचण्ड नै हो’ उनले भने ।