आलीलाई प्रश्न– पटक–पटक संसद विघटन गर्नेले कतिपटक उठबस गर्नुपर्ने हो ?

काठमाण्डु टुडे २०७८ असोज १० गते १०:२५ मा प्रकाशित

काठमाण्डु, १० असोज– नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताले प्रश्न गरेका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विभिन्न दस्तावेजमाथिको समूहगत छलफलका क्रममा पार्टीमा छलफल नै नगरी पटक–पटक संसद विघटन गर्नेलाई कारवाही हुनुपर्छ कि पर्दैन भनी प्रश्न गरेका हुन् ।

फरक पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने र आफ्नो पार्टीको नेतालाई सरकारबाट हटाउन भुमिका खेल्नेलाई कारवाही गर्नुपर्ने आवाज बैठकमा ओली पक्षका नेताहरुले उठाएका थिए । तर, यसो गर्दा संसद विघटन गर्नेले समेत कारवाहीको भागीदार बन्नुपर्ने अन्य नेताले बताएका हुन् ।

‘पार्टीमा छलफल नै नगरी पटक–पटक संसद विघटन गर्नु गल्ति हो कि होइन ? हो भने गल्ती गर्नेले कतिपटक उठबस गर्नुपर्ने हो ?’, एक नेताले छलफलमा उठेको विषयबारे  भने, ‘अरुलाई दोष देखाएर भाग्न मिल्छ ?’

केपी ओली नेतृत्वको सरकार हटाउन भुमिका खेल्ने नेताहरुलाई कारवाही गर्नुपर्ने ओली पक्षका नेताहरुले बैठकमा बताएपछि त्यसको जवाफ दिँदै अरु नेताले संसद विघटन गर्नेमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us