बैतडीमा व्यापारी मृत्यु प्रकरण : पाँचजना नियन्त्रणमा

रासस २०७८ असोज ७ गते १७:०८ मा प्रकाशित

बैतडी, ७ असोज –  बैतडीमा एक व्यापारीको हत्या आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

सुर्नया गाउँपालिका-४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत फेला परेका थिए ।

उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको र अनुसन्धानका क्रममा हत्यामा सम्लग्न भएको आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उहाँले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको र अनुसन्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमिल्ने बताए ।

महरालाई सन्सेरीमाडौँकै एक पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि पाटन इलाका प्रहरी कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us