प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै, सात मन्त्री र एक राज्यमन्त्री थपिँदै

काठमाण्डु टुडे २०७८ जेठ २७ गते १२:०५ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् ।

एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन्। उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।हाल गृह, सञ्चार, रक्षा, उद्योग, कृषि, वन, संघीय मामिलासहित सात मन्त्रालय रिक्त छन्। यी सबै मन्त्रालयको जिम्मेवारी प्रधामन्त्री ओली आफैंले सम्हालिरहेका छन्।

गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वनमा नारदमुनी राना, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधामन्त्री कार्यालयमा रहने गरी मोहन बाँनियालाई समेत मन्त्री बनाउने चर्चा छ। वन राज्य मन्त्रीमा आशा विककाे चर्चा छ। रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राख्नेछन्।

शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री  र २ राज्यमन्त्री थपेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us