सांसदहरुको राजीनामा माधव नेपालको खल्तीमा, ओलीलाई सोमबार बिहान ९ बजेसम्म अल्टिमेटम

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते २०:३५ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

नेपाल समूहका सांसदहरुले उक्त समयभित्र आफूहरुका सबाल सम्बोधन नभए सामूहिक राजीनामा दिने चेतावनी दिएको छ । २ जेठ २०७५ (माओवादीसँग पार्टी एकता) अघिको सांगठनिक सांरचनामा फर्कन र गत २८ फागुनमा आफू पक्षधर नेताहरुको जिम्मेवारी खोस्ने र रामबहादुर थापासहित पूर्वमाओवादी नेताहरुलाई केन्द्रीय समितिमा लैजाने निर्णय फिर्ता लिनुपर्ने नेपाल समूहको सर्त छ । आफूहरुका माग सम्बोधन गर्न ओली तयार भए विश्वासको मत दिने उक्त समूहले स्पष्ट गरेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसद अधिवेशन सोमबार सुरु हुँदैछ । ‘फागुन २३ को फैसलाअनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ ।

यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो’ नेपाल समूहको बैठकपछि नेता योगेश भट्टराईले भने, ‘हामीले त्यहाँ फर्कन अध्यक्ष केपी ओलीको ध्यानाकर्षण, गराएका छौं र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिबद्धता खोजेका छौं । त्यसका लागि भोलि बिहान नौ बजेसम्मको समय दिएका छौं ।’ समयसीमाभित्र आफूहरुका एजेण्डा सम्बोधन नभए सोमबार संसद् बैठकअघि नै आफ्नो समूहको बैठक बसेर कठोर निर्णय लिइने भट्टराईले उल्लेख गरे ।

वरिष्ठ नेता नेपाल सांसदहरुको सामूहिक राजीनामा खल्तीमा बोेकेर बसेका छन् । सभामुख अग्नि सापकोटालाई राजीनामा बुझाउन तयार भएका नेपाललाई ओली पक्षीय अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सोमबार दिउँसो भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us