बुढानिलकण्ठमा ओलीसँग झोक्किएर देउवाले के भने ?

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते २०:५३ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन नसक्ने जवाफ दिएका छन् ।

आफ्ना समूहका नेतासहित बुधबार देउवा भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका ओलीले सत्ता टिकाइदिन आग्रह गरेका थिए । तर, देउवाले केन्द्रीय समितिको निर्णयबारे अवगत गराउँदै विश्वासको मत दिन नसक्ने स्पष्ट गरे । ‘कांग्रेसले तपाईंलाई समर्थन दिँदैन, तपाईं र हाम्रो सहकार्य सम्भव छैन’, देउवाले भने, ‘हामी तपाईंको विपक्षमा मतदान गर्छौैं ।’ ओलीलाई जवाफ दिँदा देउवा झनक्क रिसाएका थिए ।
ओलीले विश्वासको मत लिन आगामी २७ वैशाखमा राष्ट्रपतिले संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

काँग्रेस, माओवादी केन्द्र र जसपाको बहुमत पक्ष (उपेन्द्र–बाबुराम समूह) बीच सत्ता समीकरणको सहमति भइसकेको छ । तीन दलले देउवालाई प्रधानमन्त्रीको साझा उम्मेदवारका रुपमा उभ्याएका छन् । एमालेकै असन्तुष्ट माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । यस्तोमा संसदीय गणित ओलीको विपक्षमा हुने सम्भावना देखिएको छ । माओवादी केन्द्रले बुधबार मात्र औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

देउवा भेट्न ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, संदसीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित बुढानिलकण्ठ पुगेका थिए । काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार ओलीले काँग्रेस र एमालेले सँगै लोकतन्त्रको लडाईं लडेको भन्दै अहिले पनि सहकार्यको आवश्यकता आइपरेको बताएका थिए । महतले आफूहरुले विश्वासको मत नदिने जानकारी गराएको बताए ।

‘हामीले विपक्षमा मतदान गर्छौ भनेर प्रस्ट भन्यौं’, भेटपछि सञ्चारकर्मीसँग उनले भने, ‘सत्ता साझेदारी र सहकार्यको कुरा पनि तपाईंसँग अहिले सम्भव छैन भनेर प्रस्ट भन्यौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us