पर्सामा कोरोना सङ्क्रमित महिलाको मृत्यु

रासस २०७८ वैशाख ९ गते १२:२५ मा प्रकाशित

पर्सा, ९ बैशाख–  वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिए ।

उनले यही वैशाख ३ गते नै सङ्क्रमण पुष्टि भएर महिलालाई होम क्वारेन्टिनमा राखिएको भए पनि स्वास्थ्यावस्था बिग्रिँदै गएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार हुँदै आएको बताए ।

यसैसँगै, कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण जिल्लामा छ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us