
दैलेख, ३ चैत– पेट्रोलियम पदार्थ उत्खनन अन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ ।
विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गतको पहिलो चरणको काम सकिएको छ ।
तेस्रो चरणमा गरिने ड्रिलिङको पूर्वतयारीका लागि चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका भूगर्भविद डा.गणेशनाथ त्रिपाठीले जानकारी दिए । चीनको टोलीले चैत्र १९ सम्म आउने भनेको छ । केही समय ढिलो चाँडो भए पनि यही महिनाभित्र चीनको टोली आइपुग्ने त्रिपाठीले बताए ।
टोलीले दुईदेखि तीन महिनासम्म ड्रिलिङको काम सकाएर दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका विषयमा गरिएको सम्झौताअनुसार यहाँको अवस्थाका बारेमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउने छ ।
सरकारसँग भएको सम्झौताअनुसार पहिलो चरणको काम दशैँ अगाडि सकिएको र पछि बाँकी काम शुरु गरिने तयारी रहेको भए पनि चीनबाट आएको प्राविधिक टोली फर्केपछि कोरोना महामारी शुरु भएकाले पेट्रोलियम पदार्थ उत्खननको काम रोकिएको थियो ।
नेपाल सरकारसँगको सम्झौताअनुसार चीन सरकारको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सेस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओ केमिकल स्याम्पलिङ गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सकाएको डा.त्रिपाठीले बताए ।
प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको चीन भ्रमणका बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने चीन सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएको थियो ।
दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्री स्थान, नाभिस्थान, पादुका, तल्लो डुङ्गेश्वरलगायतका क्षेत्रलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन टोलीले काम गर्दै आएको थियो ।