प्रधानमन्त्री ओलीद्वारा उपराष्ट्रपतिमाथि टुँडिखेलमा अभद्र व्यवहार, भिडियो सार्वजनिक

काठमाण्डु टुडे २०७७ फागुन ९ गते ७:२७ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– प्रधानमन्त्री केपी ओलीले प्रजातन्त्र दिवसका दिन ७ फागुनमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई अभद्र र अशिष्ट व्यवहार गरेका छन् ।

टुँडिखेलमा आयोजित कार्यक्रम सकिएपछि बिदाइका क्रममा प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिमाथि अशिष्ट व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाई गरेपछि प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिका अगाडि गएर हप्काएको शैलीमा कुरा गरेको भिडियोमा देखिन्छ । श्रोतका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध बोलेको भन्दै ओली उपराष्ट्रपतिमाथि जाइलागेका थिए ।

उपराष्ट्रपति पुनले पत्रकार महासंघको अधिवेशन उदघाटन कार्यक्रममा जननिर्वाचित प्रतिनिधिसभा कार्यकाल अगावै विकटन गरिनु असंवैधानिक भएको टिप्पणी गरेका थिए ।

उपराष्ट्रपतिले पनि प्रधानमन्त्री ओलीलाई कडै जवाफ दिएका थिए । पुनले भनेका थिए, ‘तपाईंले असंवैधानिक रुपमा संसद विघटन गर्न हुने, मैले बेल्न किन नमिल्ने ?’ उनीहरुबीच करिब दुई मिनेटजति संवाद भएको छ । उपराष्ट्रपति पुनले प्रतिवाद गरेपछि ओली आफ्नो आशनतर्फ अगाडि बढेको देखिन्छ ।

उपराष्ट्रपतिले बिदाईअघि सबैलाई हात जोडेर नमस्कार गर्छन्, तर ओलीले नमस्कार फर्काउँदैनन्, आँखा तरेजस्तो गरेर हेरिरहन्छन् ।

मर्यादा क्रममा आफूभन्दा माथि रहेका उपराष्ट्रपतिको नमस्कार समेत नफर्काउने प्रधानमन्त्री ओलीले अरुलाई सदचार सिकाउँदै हिंडेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us