
काठमाण्डु, ६ जेठ – महानगरीय अपराध महाशाखाले खुंखार डाका काले भन्ने बिष्णु तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको छ । अपराध महाशाखाको टोलीले सोमबार बिहान सवा ६ बजे काले भनिने विष्णु तामाङलाई काठमाण्डुको टोखामा गोली हानेर नियन्त्रणमा लिएको हो ।
डाँका मुद्दामा आधा दर्जनभन्दा बढी उजुरी परेका विष्णु तामाङलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि महानगरीय प्रहरी अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीमाथि गोली प्रहार गरेको एसएसपी सहकुल बहादुर थापाले बताएका छन् । उनको घुँडामा गोली लागेको छ । घाईतेको बीर अस्पतालमा उपचार भईरहेको छ ।
तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृखलावद्व चोरी र डकैतीमा संलग्न काले ६ वर्ष जेल बसेर छुटेका थिए ।
कारागार मुक्त भएलगत्तै उनले उपत्यकाका ८ ठाँउमा डकैती गरेको आरोपमा महाशाखाको टोलीले खोजी रहेको थियो । एसएसपी थापाले भने, ’पेस्तोल तेर्साएपछि गोली हानेर नियन्त्रणमा लिनु पर्यो ।’ उनी अन्य आपराधिक घटनामा समेत संलग्न रहेको प्रहरीले बताएको छ ।