
भक्तपुर, ३ जेठ – भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा जारी नर्सहरुको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले १० जना नर्सलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका नर्सहरुलाई अहिले भक्तपुरको थिमिस्थित प्रहरी प्रभागमा राखिएको छ । आमरण अनशनमा रहेका नर्स डिक्की शेर्पाको स्वास्थ्य अवस्था नाजुक बन्दै जाँदा समेत सरकारले आफूहरुको माग प्रति कुनै चासो नदेखाएको केन्द्रमा कार्यरत नर्स ट्रजिता जपीले बताइन् । केन्द्रले आफूहरुको भविष्यमाथि खेलवाड गरेको नर्सहरुको आरोप छ । माग सम्बोधन गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै नर्सहरुले आन्दोलनका थप कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।
आफूहरुको माग बारे केन्द्र र स्वास्थ्य मन्त्रालयले समेत बेवास्ता गरेको उनीहरुको भनाई छ । विगत ८ दिन देखि अनशनमा रहेकी नर्स शेर्पाको स्वास्थ अवस्था कमजोर बन्दै गएको भन्दै आईसीयूमा राख्न चिकित्सकले सुझाव दिएका थिए ।
नर्स शेर्पाको जीवन रक्षाको लागि भन्दै अरु नर्सहरुले धर्ना सुरु गरेका बेला प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेको हो । सो क्रममा प्रहरीले आफूहरुमाथि हातपात समेत गरेको पक्राउ परेका नर्सहरुले बताएका छन् । प्रहरीले भने नर्सहरुको आन्दोलनले सेवा प्रभावित भएकाले अस्पताल प्रशासनको आग्रहमा उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।
काम र अनुभवका आधारमा बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई भन्दा त्यहीँ काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने लगायत माग राखेर केन्द्रका नर्सहरु आन्दोनमा उत्रिएका हुन् । केन्द्रमा कार्यरत नर्सहरुले तलब समेत नियमित रुपमा पाएका छैनन् ।
आफूहरुको माग सुनुवाईका लागि यही बैशाख ११ गते देखि उनीहरु आन्दोलित बनेका थिए । केन्द्रमा कार्यरत करार नर्सहरुलाई स्थायी नियुक्ति दिनुपर्ने लगायत सेवा सुविधाको माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
केन्द्रमा ९६ पदको दरबन्दी रहेको छ । ती सबै पदमा अहिले करारमा नर्सहरु कार्यरत छन् । केन्द्रले नयाँ पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।