५५ प्रतिशत मात्रै मत छ, दुईतिहाइको घमण्ड नगरौंः माधव नेपाल

काठमाण्डु टुडे २०७६ जेठ १ गते १६:०६ मा प्रकाशित

काठमाण्डु, १ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुईतिहाइको घमण्ड गर्न नहुने धारणा राखेका छन् ।

पार्टी निकट युवा संगठनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका कुरा सुन्न र सुख–दुःख बुझ्न पार्टी नेतृत्वलाई सुझाव दिए ।

‘बोल्ने धेरै, सुन्ने कम गरेका छौं,’ नेता नेपालले भने, ‘हाम्रा दुइटा आँखा छन्, दुइटा कान छन्। तर मुख एउटा मात्रै छ। यो भनेको धेरै सुन्ने कम बोल्ने हो ।’

उनले जनअपेक्षा सुन्ने काम नभएको पनि बताए ।

‘ख्याल गर्नुहोला हामीले जनताको ५५ प्रतिशत मात्रै मत पाएका हौं दुई तिहाइ होइन,’ उनले भने, ‘धेरै जनताको मन जित्न बाँकी नै छ ।’

जनताका पीर मर्का तथा खुसीमा साथ दिन सकियो भने मात्रै जनताले विश्वास गर्ने उनले बताए ।

‘जनताले के भनिरहेका छन् सुन्नुहोला,’ उनले भने, ‘धेरै बोलेर मात्रै हुँदैन ।’

उनले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अध्ययन, चिन्तन गर्न अनुरोधसमेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us