
काठमाण्डु, २७ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसद अवरुद्ध पार्ने तयारी गरेको छ । गत बुधबार सरकारको नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले निम्छरो शब्द प्रयोग गरेपछि कांग्रेस रुष्ट हुँदै आएको छ । आजदेखि आर्थिक वर्ष २०७६/०७७ को प्रिबजेट छलफल हुँदैछ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका प्राथमिकता र सिद्धान्त संघीय संसदमा दुबै सदनमा पेस गर्दैछन् । दुबै सदनमा अर्थमन्त्रीले प्रिबजेट छलफलको प्रस्ताव पेस गर्नेबारे वैशाख २४ गतेको बैठकमा नै सांसद्लाई सूचित भइसकेको छ । सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन अवरोधको तयारी गरेको छ ।
गत शुक्रबार नीति तथा कार्यक्रम कांग्रेसको अवरोधकै बीच पारित भएको थियो । तर, कांग्रेस प्रक्रियामा भने सहभागी भएको थियो ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा प्रयोग भएको निम्छरा अभिव्यक्ति भन्ने शव्द हटाउन माग गर्दै आएको छ । उक्त अभिव्यक्ति रेकर्डबाट हटाउमा मागसहित अवरोधको तयारी कांग्रेसले गरेको हो ।