
सुनसरी, १८ मंसिर– पश्चिम पुगेर पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ले राष्ट्रिय सरकारको माग गरेकै बेलामा पूर्व पुगेका नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भने संविधान सभा र सरकार दुवै विघटन गर्न माग गरेका छन् । संविधान सभालाई प्रतिगामी भन्दै नेता गजुरेलले राजनीतिक सभामार्फत् संविधान बनाउनुपर्ने विचार व्यक्त गरेका हुन् ।
इटहरीमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले राजनीतिक सभाबाट जनसंविधान बनाउनुपर्ने धारणा व्यक्त गरे । अहिलेको सरकारलाई भ्रष्टाचारी र विदेशीको कठपुतली भन्दै उनले संविधान बनाउनका लागि नयाँ राष्ट्रिय सरकार बनाउनुपर्ने माग समेत गरे ।
सरकारले आफूहरुको माग नसुने छिटै आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी समेत उनले दिए । गजुरेलले नेता नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नयाँ पार्टी गठन गरेर आफूहरुलाई कुनै हानी नहुने समेत जिकिर गरे । उनले भने, ‘आज जुन मिडियाले उहाँहरुलाई उचालिरहेको छ, भोलि त्यही मिडियाले पछार्नेछ ।’