मोदीले चिढाए बलिउडका सिनेकर्मीलाई

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते १०:१९ मा प्रकाशित

एजेन्सी– भारतीय प्रधानमन्त्री बेलाबेला आफ्नो भनाइबाट चर्चामा आउँछन् र बेलाबेला विवादमा पनि मुछिन्छन् । यसपटक उनको भनाइले बलिउडका फिल्मकर्मीहरुले असन्तुष्टि जनाएका छन् ।

Modi Twitt photo
मोदीले भारतीय प्रहरीको एक कार्यक्रममा बलिउड फिल्म उद्योगको आलोचना गर्दै फिल्ममा प्रहरीलाई गलत ढंगले देखाइएको भन्दै आलोचना गरेका थिए । उनले भनेका थिए, ‘फिल्म उद्योगले आम जनताका बीचमा प्रहरीको एकदमै नकारात्मक छवि प्रस्तुत गर्ने गरेका छन् । म उनीहरुलाई सोध्न चाहन्छु, यस्तो किन गर्नुहुन्छ ? केही कमजोरीहरु होलान्, तर कमजोरीलाई नै बढाइचढाइ किन गर्नुहुन्छ ?’
मोदीको यो भनाइलाई लिएर हिन्दी सिनेमा उद्योगका थुप्रै कलाकारहरुले मोदीले सिनेमाको सन्देश नबुझेको आरोप लगाएका छन् । थुप्रै सिनेमामा प्रहरी अधिकृतको भूमिकामा अभिनय गरेका पुराना अभिनेता जीतेन्द्रले भने, ‘मोदीले भनेको कुरा बेठीक होइन तर फिल्म भनेको समाजकै ऐना त हो जसमा बाहिर जे देखिन्छ, त्यही देखाउने हो । मोदी धेरै ठूलो मान्छे हुनुहुन्छ, उहाँको भनाइमा केही दम त छ नै ।’
जीतेन्द्रले थुप्रै फिल्ममा प्रहरी अधिकृतलाई इमानदार भूमिकामा पनि देखाइएको बताए । उनले भने, ‘प्रहरीसँग हाम्रो केही दुश्मनी छैन, तर बाहिर देखिने यथार्थप्रति आँखा चिम्लने कुरा पनि त भएन ।’
राम लखन र खलनायक जस्ता फिल्ममा इमानदार प्रहरीको भूमिकामा अभिनय गरेका ज्याकी श्राफले पनि प्रहरीलाई नकारात्मक भूमिकामै देखाएको दृश्यबाट पनि प्रहरी क्षेत्रले सकारात्मक प्रेरणा लिन सक्ने भन्दै मोदीको भनाइको खण्डन गरे ।
अर्का अभिनेता अर्जुन कपुरले फिल्म रचनात्मक माध्यम भएकाले कथालाई आफ्नो तरिकाले प्रस्तुत गर्ने अधिकार हुने भन्दै मोदीको भनाइको प्रतिवाद गरे । उनले भने, ‘हामीले प्रहरीको सकारात्मक÷नकारात्मक दुवै भूमिका पनि निर्वाह गरेका हुन्छौ, दर्शकले कथाअनुसार हेर्ने हो । हामी शिक्षक पनि त होइनौं, हामी त समाजका ऐना हौं ।’
नरेन्द्र मोदीले कलाकारलाई आफ्नो प्रशासनको प्रतिकुलका फिल्म नबनाउन् भन्ने आशयले यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us