
काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले तोकेको समयमै संविधान जारी हुने बताएका छन् । सार्क शिखर सम्मेलन समापन भएपछि पत्रकारहरुमाझ उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘हामी सहमतिमै संविधान जारी गर्ने प्रयासमा छौं’, उनले भने, ‘नेपालीहरुले आफ्नो तबरबाट यसको निर्णय लिनेछन् ।’
नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणबारे मित्रराष्ट्रहरुको चासो रहनु स्वभाविक हो भन्दै उनले भने, ‘सल्लाह, सुभेक्षा सबैको हुन्छ, निर्णय लिने हामीले नै हो ।’
सहमति सम्भव नभए प्रक्रियागत ढंगले संविधान जारी गर्न पनि सकिने प्रावधान रहेकाले त्यसतर्फ उन्मुख भइरहेको अवस्थामा छिमेकी मुलुकका प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिमा जतिसक्दो छिटो संविधान जारी गर्न सुझाएका थिए ।
मोदीको उक्त धारणापछि एमाओवादीसहितका साना दलहरु उत्साहित भएका थिए ।
यसबारे सञ्चरकर्मीले जिज्ञासा राखेपछि प्रधानमन्त्री कोइरालाले भने, ‘सल्लाह, सुझाव सबैको हुन्छ । तर निर्णय लिने हामीले नै हो । हामीले पनि कहाँ सहमति नगर्न भनेका छौ र ?’
सहमति नभए कसरी जाने भन्ने कुरा अर्कै हो भन्दै प्रधानमन्त्री यसबाट पन्छेका थिए ।
कान्तिपुर दैनिकबाट